काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले विपक्षीहरुमाथि भइरहेको राजनीतिक प्रतिशोध नरोकिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै सांसद झाले यस्तो चेतावनी दिएका हुन् । उनले पार्टी सभापति रवि लामिछाने र रेशम चौधरीप्रति गरिएको व्यवहार तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागेको घटना नियोजित राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको टिप्पणी गरे।
उनले पछिल्लो समयमा भइरहेका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भिर भएर हेरिरहेको सांसद झाको भनाइ छ ।
उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरुमा पार्टीको तर्फबाट ध्यानकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौँ । हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपालज्युको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौँ । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ? यसलाई हामी एउटा राजनीतिक प्रतिशोधको क्रमको रुपमा हेरिराखेका छौँ । गम्भिरतापूर्वक लिइराखेका छौँ । सधैँ चुप लागेर बस्न सकिने अवस्था नरहन पनि सक्छ भन्न चाहन्छौँ ।’
उनले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्ति समेत जनाए ।
प्रतिक्रिया दिनुहोस