काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।
दुई देशबीच चलेको श्रृंखलावद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाहरुमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरुको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले नेपाल शान्तिको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताए।
सांसद् खनालले सार्वजनिक वक्तव्यमा परराष्ट्र मन्त्रालयले आतंकवादविरुद्ध लिएको अडानको स्वागत गर्दै सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले भारत–पाकिस्तानबीच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ति देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गरे ।
उनले भने, ‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरताको पक्षमा नेपालको स्वभाविक चासो हुनुपर्दछ । परराष्ट्र मन्त्रालयले ढिलै भए वक्तव्यमार्फत सार्वजनिक गरेको आतंकवाद विरुद्धको अडानको स्वागत गर्दै भारत पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपुर्ति र आर्थिक श्रृंखलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीहरुमाथि पर्नसक्ने प्रभावसम्मको आँकलन गरी योजना निर्माणको माग गर्दछु ।’ नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबीच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताए ।
नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गरिन्। उनले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने उल्लेख गरिन्। भारत–पाकिस्तानबीचको तनाव नरोकिए भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति संकट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उनको भनाइ छ । सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटिकन भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक समन्वय विस्तारमा जोड दिइन्।
उनले भनिन्, ‘भारत–पाकिस्तानको हालको तनावले दक्षिण एसियामा व्यापक असर परिरहेको छ । जसको असर नेपालमा पनि तत्काल पर्नसक्छ । सभामुख महोदय नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भाग्नुपर्ने सम्भावित चुनौतीहरु, भूराजनीतिक दबाब, कुटनीतिक असन्तुलन, खुला सीमा सुरक्षा जोखिम, आर्थिक परनिर्भता र आपूर्तिमा संकट, हवाई यातायात, पर्यटन र व्यापारमा समेत समस्या पर्नसक्ने भएको कारण नेपालले असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक सक्रियता बढाउनुपर्छ ।’
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आम्नेसाम्ने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तालाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस