काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका कुराहरूलाई कानूनी परिभाषित गरेर कार्यान्वयनमा ल्याउन सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
आईतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मौलिक हकमा राखिएका कुराहरूलाई कार्यान्वयनमा ल्याउने संवैधानिक प्रतिवद्धता रहेको बताउँदै त्यसलाई पूरा गर्न सबै मिलेर एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको बताए । उनले सत्ता र प्रतिपक्षबाट समर्थन र आलोचना गरे पनि कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एक हुनुपर्ने दोहोर्याए ।
उनले पछिल्लो बदलिएको संसारको प्रभाव, अमेरिकी सरकारको नीतिको प्रभाव, रुस–युक्रेन युद्ध र छिमेकी मुलुकमा देखिएको तनाव लगायतका विषयहरूको प्रभावलाई मूल्याङ्कन गरी एक ठाउँमा उभिएर आगामी बजेटबाट नयाँ रचना गर्न सक्नुपर्ने बताए । उनले संसारमा आएको परिवर्तनबाट पर्ने प्रभावलाई मूल्याङ्कन गरेर सरकार अगाडी बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, “हामीले संविधानको मौलिक हकमा राखिएका कुराहरूलाई कानूनी परिभाषित गरेर कार्यान्वयनमा ल्याउँछौँ भन्ने संवैधानिक प्रतिबद्धता हो । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर एक ठाउँमा उभिनुपर्छ भन्ने आजको आवश्यकता हो । हामीले सत्ता र प्रतिपक्षबाट समर्थन र आलोचना गरे पनि एउटै यथार्थ कुरा के हो भने, देशको अर्थतन्त्र कमजोर छ, कमजोर अर्थतन्त्रको बीचबाट हामीले कति काम गर्नसक्छौँ, स्वयं अर्थतन्त्र र अर्थ नीतिलाई सुदृढ गर्नको लागि, पछिल्लो बदलिएको संसारको प्रभाव, वर्तमान अमेरिकी सरकारको नीतिको प्रभाव, रुस– युक्रेन युद्धको प्रभाव र भर्खरै छिमेकी मुलुकमा देखिएको तनावले हामीलाई के प्रभाव देखा परेको छ, सबै चिजको मूल्याङ्कन गरेर हाम्रो देशको अर्थतन्त्रमा पर्ने प्रभावलाई हामीले विचार गरेर सही ढङ्गले एक ठाउँमा उभिएर नयाँ रचना गर्न सक्नुपर्छ आगामी बजेटबाट भन्ने मलाई लागेको छ । त्यस दिशामा अगाडी जाने खालको प्रतिबद्धता संसारमा आएको परिवर्तनबाट पर्ने प्रभावलाई समेत मूल्याङ्कन गरेर यो सरकार अगाडी जान्छ भन्ने परराष्ट्र नीतिहरू हेर्दा खेरी, मलाई त्यस्तै लागेको छ ।”
नीति तथा कार्यक्रमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रतिबद्धता देखाएको बताउँदै अन्य महत्वपूर्ण विषयहरू वस्तु समावेश भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस