काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको बताउँदै अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति रहेको बताएका छन् ।
मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पैसाको कमीले पहिला जस्तो यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने आँट गर्न नसकिरहेको उनले स्पष्ट पारे। यद्यपी, अर्थतन्त्र अब ओरालो नलाग्ने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे ।
उनले यसअघि प्रधानमन्त्री हुँदा धेरै पैसा रहेकाले जे पनि गर्नुपर्छ भनेर काम सुरु गरेको भन्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको बताए। सोही समयमा निर्माण सुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्रहरु अहिले सञ्चालनमा रहेको बताए। उनले एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाइदिने सम्मका कुराहरु आएको भन्दै त्यो भन्नमा र गर्नमा फरक हुने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘एक दुई वटा साना कामहरुमा साथी भाइहरु बहुत हौसिन्छन् । हामी छौँ भन्छन्, चन्दा उठाउँछन् । अस्ति हाम्रो पार्टी अफिस एक एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए । एक एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे । एक/एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ । चन्दा एक/एक रुपैयाँ कहाँ साटेर ल्याउने ? दिँदैन त्यो पनि । यो भन्ने एउटा कुरा हो । तर, रियालिटी अर्को कुरा हो । जे होस् हामीले यो नयाँ काम शुरु गरेका छौँ । ६० वर्ष लाग्नुपर्ने होइन । यसका लागि जमिन खोजि भएको छ । यसमा बजेट पनि हालेको हो । म यसअघि प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन । जे पनि गर्नुपर्छ भन्थेँ, जे पनि बनाउँथेँ ।’
प्रधानमन्त्री ओलीले आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको बताए।
प्रतिक्रिया दिनुहोस