काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्नेकुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको बताए ।
उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटि गभर्नरहरुबाट नै बनाउने प्रचलन भएपनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएको बताए । उपमहासचिव पुनले अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएकोले स्वार्थ समूहसँग डिएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने दाबी गरे ।
उनले मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आफूहरुको आपत्ति नहुने स्पष्ट पारे ।
उनले गभर्नर नियुक्ति स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैर विज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराए ।
प्रतिक्रिया दिनुहोस