काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएको तीन दिन बितिसक्दा पनि कुनै पनि प्रदेशमा सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्न सकेको छैन ।
दुई दलबीच कुन प्रदेश कसले नेतृत्व गर्ने भन्ने समझदारी बने पनि आवश्यक बहुमत, आन्तरिक समीकरण र साना दलको समर्थन जुटाउनुपर्ने बाध्यताका कारण सरकार गठनको गृहकार्य अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।
नेकपाको भागमा परेको सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकार गठन तुलनात्मक रूपमा सहज देखिए पनि एमालेले नेतृत्व गर्ने वागमती, कोशी र लुम्बिनी प्रदेशमा भने बहुमतको गणित र आन्तरिक व्यवस्थापन चुनौती बनेको छ । तीमध्ये पनि सबैभन्दा बढी पेचिलो अवस्था वागमती प्रदेशमा देखिएको छ ।
वागमती प्रदेश सभामा कुल १०४ सदस्य रहेका छन् । सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमाले र नेकपाका सांसद जोड्दा बहुमत पुग्दैन । एमालेसँग २५ र नेकपासँग २५ सांसद छन्। एमालेबाट निर्वाचित उपसभामुखलाई मतदानमा गणना गर्न नमिल्ने भएकाले गठबन्धनसँग प्रभावकारी रूपमा ५० सांसद मात्रै हुन्छन् । सरकार गठनका लागि अझै तीन सांसदको समर्थन अनिवार्य छ ।
यही कारण एमाले–नेकपा गठबन्धन अहिले राप्रपा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी (हानेपा) सँग छलफलमा केन्द्रित भएको छ । विशेषगरी १२ सांसद रहेको राप्रपा गठबन्धनमा आए सहज बहुमत पुग्ने भएकाले एमालेको मुख्य ध्यान राप्रपातर्फ देखिएको छ ।
उता नेपाली कांग्रेस पनि सरकार गठनको दौडबाट बाहिरिएको छैन । कांग्रेस केन्द्रीय समितिले बहुमत जुटाउन सक्ने प्रदेशमा अन्य दलसँग छलफल गरेर सरकार गठनको पहल गर्न निर्देशन दिइसकेको छ । वागमतीमा कांग्रेससँग ३६ सांसद छन् । बहुमत पुर्याउन उसलाई राप्रपासँगै नेमकिपा र हाम्रो नेपाली पार्टीको समेत साथ आवश्यक पर्छ ।
नेपाली कांग्रेस वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले सरकार गठनका लागि विभिन्न दलसँग छलफल भइरहेको बताए । ‘सबै दलसँग छलफल जारी छ, प्रदेशको राजनीतिक अवस्था हेरेर छिट्टै निष्कर्षमा पुग्ने प्रयास भइरहेको छ ।’ उनले भने ।
दुई दिनभित्र टुंगो लाग्ने दाबी
सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले पनि वागमतीमा राप्रपासहित अन्य दलसँग संवादलाई तीव्र बनाएको छ । सत्ता सहकार्यको अन्तिम टुंगो अब धेरै ढिलो नहुने एमालेको दाबी छ ।
नेकपा एमाले वागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले सबै दलसँग खुला रूपमा छलफल भइरहेको बताए ।
उनले भने–‘यो प्रदेश सभाको अन्तिम कार्यकाल भएकाले पनि सबै दलसँग खुलेर संवाद गरिरहेका छौं, छिटोमा भोलि, नभए बुधबारसम्म कोससँग सहकार्य गर्ने भन्ने निष्कर्षमा पुग्छौं ।’
गठबन्धनको अन्तिम निर्णय भएपछि सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।
राप्रपा ‘निर्णायक’ भूमिकामा
वागमती प्रदेशमा १२ सांसद रहेको राप्रपाले भने अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । दुवै गठबन्धनबाट प्रस्ताव आएको स्वीकार गर्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अन्तिम निर्णय पार्टी केन्द्रले गर्ने बताए ।
‘दुवैतर्फबाट कुरा आएको छ,अन्तिम निर्णय पार्टीले गर्छ ।’ उनले भने ।
थापाका अनुसार यसपटक राप्रपा सरकारमा सहभागी हुन नहुने भन्ने पूर्वधारणा पनि छैन।
‘हामी सरकार निर्माणमा बाधक बन्न चाहँदैनौं। सरकारमा सहभागी हुने सम्भावना पनि खुला छ। कांग्रेसबाट पनि प्रस्ताव आएको छ , तर कांग्रेसले आवश्यक संख्या जुटाउन सक्छ कि सक्दैन भन्ने प्रश्न छ उनले भने । अहिलेको अवस्थामा एमाले–नेकपा गठबन्धनको अंकगणित केही सहज देखिएको छ, उनले भने।
प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत नपुग्दा वागमतीमा सत्ता समीकरण अझै खुला रहेको छ। राप्रपाको निर्णयले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्ने भएकाले अहिले सबै राजनीतिक दलको नजर उसैतर्फ केन्द्रित भएको छ।
प्रतिक्रिया दिनुहोस