काठमाडौं । मुस्ताङको मार्फामा अवस्थित ‘शिन्ता मणि मुस्ताङ’ विश्वकै उत्कृष्ट लक्जरी रिसोर्ट घोषित भएको छ । प्रसिद्ध लाइफस्टाइल म्यागेजिन *रोब रिपोर्ट* ले सार्वजनिक गरेको ‘द ५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीमा शिन्ता मणि मुस्ताङ पहिलो स्थानमा परेको हो ।
विश्वका प्रतिष्ठित लक्जरी होटल तथा रिसोर्टहरूलाई पछि पार्दै शिन्ता मणिले शीर्ष स्थान हासिल गरेको हो । यसअघि सन् २०२४ मा ‘बेस्ट अफ द बेस्ट’ र २०२५ मा ‘बेस्ट लक्जरी एडभेन्चर होटल’को उपाधि जितिसकेको यस रिसोर्टले सन् २०२६ मा विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा पहिलो स्थान हासिल गरेको हो ।
रोब रिपोर्टले सन् २०२३ देखि विश्वका उत्कृष्ट लक्जरी होटल तथा रिसोर्टको सूची सार्वजनिक गर्दै आएको छ । सूची तयार पार्दा लक्जरी यात्राका २४ जना अनुभवी विशेषज्ञको सिफारिस, होटल तथा रिसोर्टको विशिष्टता, ग्राहकको अनुभव र समग्र मूल्याङ्कनलाई आधार बनाइने बताइएको छ ।
शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्ग्याल शेर्पाले यो उपलब्धि सिङ्गो नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक भएको बताएका छन् । ‘हाम्रो लक्ष्य नेपाललाई विश्वका उत्कृष्ट लक्जरी गन्तव्यहरूमध्ये एकका रूपमा पुनः स्थापित गर्नु हो । हामीले नेपालको पहिचान परिवर्तन गर्ने होइन, बरु हाम्रो संस्कृति, प्राकृतिक सौन्दर्य, सम्पदा र समुदायको मौलिकतालाई विश्वसामु प्रस्तुत गरेका हौँ । रोब रिपोर्टको यो सम्मानले नेपाल पनि विश्वका प्रतिष्ठित लक्जरी गन्तव्यहरूसँग समान स्तरमा उभिन सक्छ भन्ने पुष्टि गरेको छ,’ उनले भने ।
समुद्री सतहबाट २ हजार ८ सय मिटरको उचाइमा रहेको शिन्ता मणि मुस्ताङमा २९ वटा कोठा छन् । यती समूहअन्तर्गतको शेर्पा हस्पिटालिटी ग्रुपले निर्माण गरेको यो रिसोर्ट विश्वप्रसिद्ध डिजाइनर बिल बेन्स्लीले डिजाइन गरेका हुन् । रिसोर्टको वास्तुकला तिब्बती शैलीमा आधारित छ ।
सुरुवाती चरणमा ‘मोक्ष’ ब्रान्डअन्तर्गत सञ्चालनमा आएको रिसोर्ट निर्माणमा करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको बताइएको छ ।
रिसोर्टले पर्यटकलाई सामान्य होटल बसाइभन्दा फरक स्थानीय संस्कृति, प्रकृति र साहसिक गतिविधिमा आधारित अनुभव प्रदान गर्दै आएको छ । विदेशी पर्यटकका लागि न्यूनतम पाँच दिनको बसाइको अवधारणा अघि सारिएको छ ।
पाँच दिने बसाइका क्रममा पर्यटकलाई मार्फाको स्थानीय संस्कृति र खानासँग परिचित गराउनेदेखि घोडा चढेर ढुम्बा तालसम्मको यात्रा, प्राकृतिक ओडारमा बसाइ तथा मुक्तिनाथ क्षेत्रको भ्रमणसम्मका गतिविधिमा सहभागी गराइन्छ । यसका साथै आयुर्वेदिक मसाज, योग तथा स्वास्थ्य र पुनर्जागरणसँग सम्बन्धित गतिविधि पनि प्याकेजमा समेटिएका छन् ।
रिसोर्टमा विदेशी पर्यटकका लागि दुई जनाको प्रतिरात शुल्क १ हजार ८ सय अमेरिकी डलरबाट सुरु हुन्छ । स्वीट रुमको शुल्क २ हजार २ सय अमेरिकी डलरसम्म पुग्छ । नेपाली पर्यटकका लागि भने प्रतिरात न्यूनतम १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।
महँगो शुल्कका कारण अकुपेन्सी दर तुलनात्मक रूपमा कम भए पनि उच्च आर्थिक क्षमता भएका विदेशी पर्यटक, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली उद्योगी–व्यवसायी तथा बैंकरहरूका लागि शिन्ता मणि मुस्ताङ आकर्षक गन्तव्य बन्दै आएको छ ।
सन् १९७० र ८० को दशकमा नेपाल एसियाकै प्रमुख पर्यटन गन्तव्यमध्ये एक मानिन्थ्यो । पछिल्ला दशकहरूमा भने नेपालको पर्यटन क्षेत्र मुख्यतः ट्रेकिङ, साहसिक तथा बजेट पर्यटनमा केन्द्रित हुँदै आएको थियो । शिन्ता मणि मुस्ताङले हासिल गरेको अन्तर्राष्ट्रिय उपलब्धिले नेपाललाई पुनः उच्चस्तरीय तथा लक्जरी पर्यटनको विश्व नक्सामा स्थापित गर्न योगदान पुर्याएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस