२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

सरकार गठनको १२३औँ दिनमा बालेन सरकारको पहिलो ‘उद्घाटन’

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बालेन्द्र शाह प्रधानमन्त्री बनेको सोमबार १२३औँ दिन पूरा भएको छ । यो अवधिमा सरकारका धेरै निर्णय विवाद र चर्चामा रहे, तर एउटा कुरा भने सुरुदेखि नै स्पष्ट देखियो– प्रधानमन्त्री शाहले उद्घाटन, शिलान्यास र औपचारिक समारोहको राजनीतिक संस्कृतिबाट आफूलाई टाढा राख्ने नीति अपनाए ।

सरकार गठनलगत्तै प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई समेत अनावश्यक उद्घाटन, शिलान्यास, गोष्ठी, सेमिनार र औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएका थिए । शाहले मन्त्रीहरूको समय र ऊर्जा समारोहभन्दा नीतिगत निर्णय, सेवा प्रवाह र कार्यान्वयनमा केन्द्रित हुनुपर्ने भन्दै औपचारिक कार्यक्रममहरुमा कम सहभागी हुन निर्देशन दिएका थिए ।

यसको प्रभाव मन्त्रीपरिषद्को कार्यशैलीमा पनि देखियो । केही आयोजना निरीक्षण, मन्त्रालयगत समीक्षा र प्रशासनिक कार्यक्रममा सहभागी भए पनि अधिकांश मन्त्री सार्वजनिक मञ्चमा निकै कम देखिए ।

अघिल्ला सरकारहरूमा जस्तो रिबन काट्ने, शिलापत्र अनावरण गर्ने र उद्घाटन कार्यक्रममा मन्त्रीहरूको बाक्लो उपस्थिति यस अवधिमा लगभग देखिएको छैन ।

तर, यही नीति १२३औँ दिनमा आएर पहिलो पटक अपवाद बन्यो।

नेपालकै पहिलो सडक सुरुङमार्ग तथा राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले गरे । 

वर्तमान सरकार गठनपछि मन्त्रीले गरेको यो पहिलो ठूलो उद्घाटन हो । त्यससँगै लम्सालको नाम उद्घाटनकर्ताका रूपमा सरकारी अभिलेखमा पनि जोडिएको छ ।

प्रधानमन्त्री किन पुगेनन् ?

नागढुंगा सुरुङमार्ग सामान्य आयोजना होइन, यसलाई नेपाललाई सुरुङमार्ग युगमा प्रवेश गराउने ऐतिहासिक पूर्वाधारका रूपमा हेरिएको छ। राजधानी प्रवेश गर्ने मुख्य सडकको दशकौँदेखिको जाम घटाउने अपेक्षा गरिएको यो आयोजना राष्ट्रिय गौरवको सूचीमा समेत छ ।

यति महत्वको आयोजना उद्घाटन हुँदा प्रधानमन्त्री स्वयं उपस्थित नहुनुलाई धेरैले चासोका साथ हेरे। निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री शाह सुरुङमार्गको स्थलगत निरीक्षणमा समेत पुगेका थिएनन्,उद्घाटन समारोहमा पनि उनी अनुपस्थित रहे ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शाह आफ्नो पुरानै कार्यशैलीबाट विचलित हुन चाहँदैनथे । त्यसैले उद्घाटनको जिम्मेवारी विभागीय मन्त्रीलाई दिइयो । 

त्यसपछि मन्त्री लम्सालले औपचारिक रूपमा सुरुङमार्ग उद्घाटन गरे। रोचक कुरा के थियो भने उद्घाटन समारोहमा सहभागी भए पनि उनले राजनीतिक मन्तव्य दिएनन् । बरु शिलालेख विवादबारे बोल्दै शिलान्यासको अभिलेख पनि सम्मानपूर्वक पुनःस्थापना गरिने प्रतिबद्धता व्यक्त गरे।

शिलालेखमा राजनीति

नागढुंगा सुरुङमार्ग उद्घाटनसँगै अर्को विवाद पनि सतहमा आयो। उद्घाटनका लागि राखिएको शिलालेखमा वर्तमान मन्त्री सुनिल लम्सालको नाम राखियो, तर आयोजना शिलान्यास गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शिलालेख भने त्यहाँ राखिएन ।

यही विषयलाई लिएर एमालेले सरकारमाथि इतिहास मेटाउने प्रयास गरेको आरोप लगायो। एमाले नेताहरूले आयोजना कसले सुरु ग र्‍यो भन्ने तथ्यलाई लुकाउन खोजिएको दाबी गरे ।

उता सरकारले भने उद्घाटन समारोहलाई राजनीतिक प्रतिस्पर्धाको विषय नबनाई विगतका योगदानलाई पनि सम्मान गर्ने संकेत दिएको देखियो। मन्त्री लम्सालले पुरानो शिलालेख पुनःस्थापना गर्ने सार्वजनिक प्रतिबद्धता जनाएपछि विवाद केही मत्थर हुने अपेक्षा गरिएको छ।

ओलीले शिलान्यास, प्रचण्डले ब्रेकथ्रु, बालेन सरकारको उद्घाटन

यो आयोजना तीन फरक सरकारको कार्यकालसँग जोडिएको छ। शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। सुरुङ खन्ने कार्य सम्पन्न भएको ‘ब्रेकथ्रु’ कार्यक्रम तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा भएको थियो। निर्माण सम्पन्न भएपछि उद्घाटन गर्ने अवसर भने बालेन्द्र शाह नेतृत्वको सरकारलाई मिल्यो ।

नेपालका ठूला पूर्वाधार आयोजना एउटै सरकारको उपलब्धिभन्दा पनि निरन्तर सरकारी प्रक्रियाको परिणाम हुने तथ्यलाई पुनः स्मरण गराएको नेपाल सरकारका एक पुर्व सचिवको भनाई छ ।

श्रेयभन्दा कार्यशैलीको सन्देश

बालेन सरकारको सुरुआती कार्यशैली हेर्दा प्रधानमन्त्री शाहले अघिल्ला सरकारहरूले अपनाएको ‘उद्घाटन–शिलान्यास केन्द्रित राजनीति’ बाट आफूलाई अलग देखाउने प्रयास गरेको स्पष्ट देखिन्छ। तर, राज्यका नियमित दायित्वबाट सरकार पूर्ण रूपमा अलग रहन पनि सम्भव हुँदैन भन्ने सन्देश नागढुंगा सुरुङमार्ग उद्घाटनले दिएको छ।

१२३ दिनसम्म कुनै ठूलो उद्घाटनमा नदेखिएको सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजना उद्घाटन गर्नैपरेको छ । प्रधानमन्त्री स्वयं नआए पनि सरकारको प्रतिनिधित्व विभागीय मन्त्रीले गरे। 

आगामी दिनमा राष्ट्रिय महत्वका अन्य आयोजना सम्पन्न हुँदा प्रधानमन्त्री शाह स्वयं उपस्थित हुन्छन् कि आफ्नो यही शैलीलाई निरन्तरता दिन्छन्, त्यो पनि राजनीतिक चासोको विषय बन्ने देखिएको ति सचिवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट