विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको छ ।
आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्युका बाबजुद सोमबार बिहान करिब १० बजेदेखि करिब एक हजारको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
प्रदर्शनकारीले कप्तानगन्ज चोकमा टायर बालेर नाराबाजी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। केहीबेरमै प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि अवस्था नियन्त्रणबाहिर जान थालेको प्रशासनले जनाएको छ ।
स्थिति नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि भिड नियन्त्रण गर्न कठिन भएपछि बख्तरबन्द गाडी र हतियारसहित नेपाली सेनाको टोली कप्तानगन्जमा परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो । सेना परिचालन भएपछि प्रदर्शनकारी तितरबितर भएका थिए ।

सेना पुग्नुअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरी सामान बाहिर निकालेर आगो लगाइएको थियो। सुरक्षाकर्मी तत्काल पुग्न नसकेका स्थानमा बढी क्षति पुगेको प्रशासनको प्रारम्भिक निष्कर्ष छ ।
प्रजिअ घिमिरेले अवस्था थप बिग्रिए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा आवश्यक सुरक्षा कारबाही अघि बढाउने बताएका छन्। परिस्थिति नियन्त्रणबाहिर गए थप गोली चलाउनुपर्ने अवस्था आउन सक्ने भन्दै उनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
कप्तानगन्ज घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा समेत टायर बालेर प्रदर्शन गरिएको छ। प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ । राजमार्गमा सवारीसाधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् ।
आइतबार राति कप्तानगन्जमा भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
झडपमा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीसमेत सुनसरी पठाइएको छ ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा उपस्थिति थप सुदृढ बनाउँदै स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस