नेपालमै पहिलोपटक शिलाजित मिसिएको ऊर्जा पेय उत्पादन, बेलायतदेखि अमेरिका र मध्यपूर्वसम्म निर्यात गर्ने तयारीनेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य प्राकृतिक सम्पदा शिलाजित अब आधुनिक ऊर्जा पेय (इनर्जी ड्रिंक) का रूपमा विश्व बजारमा प्रवेश गर्ने भएको छ। नेपाली उद्यमीहरूको पहलमा विकसित ‘भिट सिला’ नामक शिलाजितयुक्त ऊर्जा पेय साउन १८ गते औपचारिक रूपमा सार्वजनिक गरिने भएको हो ।
भिटसिला फुड्स एण्ड वेभरेज प्रालि. ले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा शिलाजित मिसिएको इनर्जी ड्रिंक उत्पादन गर्न लागेको जनाएको छ। कम्पनीका अनुसार यसको वैज्ञानिक फर्मुलेसन बेलायत (यूके) मा विकास गरिएको हो, जसले आधुनिक पेय प्रविधि र हिमालयन शिलाजितको प्राकृतिक गुणलाई एउटै उत्पादनमा समेटेको छ।
कम्पनीले यो उत्पादनलाई सम्भवतः विश्वकै पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजितयुक्त इनर्जी ड्रिंक भएको दाबी गरेको छ।
यस ब्रान्डको विकास सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका नरेन्द्रबहादुर चन्द, उद्योगी विवेक सिटौला र पोल्ट्री फिड व्यवसायी कविन्द्र प्रसाईँको संयुक्त लगानी तथा अवधारणाबाट भएको हो। उनीहरूले नेपाली प्राकृतिक सम्पदालाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो परियोजना अघि बढाएको बताएका छन्।
कम्पनीको अन्तर्राष्ट्रिय साझेदारका रूपमा बेलायतकी डा. हाना आबद्ध छिन्। उनी भिटसिला की सह–संस्थापक तथा निर्देशक हुन्। कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजार विस्तार, रणनीतिक योजना र ब्रान्डको विश्वव्यापी उपस्थितिमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछिन्।
हाल डा. हाना CSR Accreditation अन्तर्गत मध्यपूर्व तथा उत्तर अफ्रिका MENA क्षेत्रकी कार्यकारी निर्देशक, Northumbria University London मा लेक्चरर तथा मोड्युल लिडर, बोर्ड सदस्य र संयुक्त राष्ट्र विकास कार्यक्रम UNDP बाट मान्यता प्राप्त SDG Impact Standards प्रशिक्षकका रूपमा कार्यरत छिन्।
कम्पनीले ‘भिट सिला’ लाई नेपाली बजारमा मात्र सीमित नराखी बेलायत, अमेरिका, युरोपेली मुलुक र मध्यपूर्वमा निर्यात गर्ने लक्ष्य लिएको जनाएको छ। यसका लागि बेलायतको लन्डनमा कम्पनी दर्ता गरिसकिएको र आगामी तीन महिनाभित्र त्यहीँ उत्पादन सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको छ।
कम्पनीका अध्यक्ष विवेक सिटौलाले ‘भिट सिला’ केवल नयाँ पेय पदार्थ नभई नेपालको शिलाजितलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने अभियानको सुरुवात भएको बताए।
कम्पनीले आगामी दिनमा शिलाजितमा आधारित अन्य स्वास्थ्यवद्र्धक तथा फङ्सनल पेय पदार्थ पनि बजारमा ल्याउने योजना बनाएको छ। उत्पादन विस्तारसँगै नेपालमा रोजगारी सिर्जना, निर्यात वृद्धि रMade in Nepal को पहिचानलाई विश्व बजारमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस