काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै संसदमा देखिएको भावुकता र बाहिर देखिएको अभिव्यक्तिबीच विरोधाभास रहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले प्रतिनिधिसभाको रोष्ट्रममा सुँक्कसुँक्क गर्दै रुने, सभा हलमा भक्कानिने र “हाम्रा दाजुभाइ–दिदीबहिनीमाथि गोली चल्दा निकै पीडा भएको छ” भन्ने अभिव्यक्ति दिने तर बाहिर आएपछि गोली लागेका व्यक्तिलाई नै दोष लगाउने प्रवृत्तिको आलोचना गरेका छन् ।
उनले लेखेका छन्, “बाहिर केही रफ्फु मिडिया गिडगिडाउँदै भन्छन्– दोष तिनै मान्छेको थियो, जसले गोली खाए । जवाफदेहिता भए राजीनामा देऊ ।”
बास्कोटाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचमा तनाव उत्पन्न भएपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
यस घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस