२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

नागढुङ्गा सुरुङमार्ग

८० महिनापछि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : हराएको शिलालेख पुनस्र्थापना गर्ने सरकारको घोषणा

सोमवार , श्रावण ११, २०८३

नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको करिब ८० महिनापछि सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सुरुङमार्गको उद्घाटन गर्दै हराएको शिलान्यास शिलालेख खोजी  गरेर पुनस्र्थापना गरिने घोषणा गरेका छन् ।

सुरुङमार्ग उद्घाटनअघि केही दिनदेखि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यासका क्रममा राखेको शिलालेख हटाइएको विषयले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा पाएको थियो । 
नेकपा एमालेका महासचिव शंकर पोखरेलले समेत सामाजिक सञ्जालमार्फत आफूहरूले सुरु गरेका विकास आयोजना कसैले मेटाउन नसक्ने टिप्पणी गरेका थिए ।

758677466_1715546299689652_5610852156727422872_n.jpg

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सरकार विगतको योगदानको सम्मान गर्दै अघि बढ्ने बताए ।

उनले भने–‘हामीले भूतलाई अर्थात् विगतलाई एकदमै इज्जत गर्नुपर्छ र गर्छौँ। शिलालेख कसैको नाम मेटाउन हटाइएको होइन ।’

उनका अनुसार सुरुङ निर्माणका क्रममा शिलालेख राखिएको स्थानमा संरचना निर्माण गर्नुपर्ने भएपछि सडक विभागले उक्त शिलालेख सुरक्षित रूपमा विभागमा सारेको थियो । तर भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभागको भवनमा आगलागी हुँदा शिलालेख हराएको जानकारी आएको उनले बताए ।

‘हराएको शिलालेख खोजेर पुनः स्थापना गर्छौँ, विगतको इतिहासलाई सम्मान गर्नु हाम्रो दायित्व हो ।’ मन्त्री लम्सालले स्पष्ट पारे ।

सडक विभागले पनि शिलालेख अहिले हटाइएको नभई करिब एक वर्षअघि नै निर्माण कार्यका कारण स्थानान्तरण गरिएको र आन्दोलनका क्रममा आगलागी भएपछि नष्ट भएको जनाएको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६÷६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा सुरु भएको थियो। त्यसपछि २०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए।

निर्माणका क्रममा मुख्य सुरुङको ‘ब्रेकथ्रु’ भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा सम्पन्न भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका बेला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

उद्घाटन समारोहमा मन्त्री लम्सालले यो आयोजना नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात भएको उल्लेख गर्दै अब देशभर यस्तै सुरुङमार्ग निर्माण गरिने बताए।

उनले भने–‘यो टनेलले हामीलाई धेरै कुरा सिकाएको छ। अब नेपाल टनेल युगमा प्रवेश गरेको छ। देशभर आवश्यकता अनुसार यस्ता सुरुङमार्ग निर्माण गर्दै जान्छौँ ।’ 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङमार्ग हो। मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने सहायक (इभ्याकुएसन) सुरुङ २.५५७ किलोमिटर लामो छ।

करिब साढे छ वर्षभन्दा बढी समयको निर्माणपछि सञ्चालनमा आएको यो सुरुङमार्गले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रालाई सहज, सुरक्षित र छोटो बनाउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट