काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले गैरआवासीय नेपाली संगठनलाई विधिसम्मत रुपमा चल्न पनि आग्रह गरे। अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर गरे। उनले गैरआवासीय नेपाली संगठनलाई राजनीतिक दलहरुका जनवर्गीय संगठन बन्नबाट बचाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘विधिसम्मत ढंगले तपाईंहरु चल्नुस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्नेकुरा यो त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन । राम्रा निष्कर्ष निस्किउन् । यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस् । यस संस्थालाई पोल्टिकल पार्टीका जनवर्गीय संगठन बन्नबाट बचाउनका लागि, यस संस्थालाई अरु कसैको बेनिफिटका लागि प्रयोग हुने कुराबाट जोगाएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरु सफल हुनुस् । त्यसका लागि युनिटीमा जोड दिने हो, विधिमा जोड दिने हो । विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ । नेकपा एमालेले गैरआवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’
प्रधानमन्त्री ओलीले गैह्र आवासीय नेपाली संगठनलाई कसैको स्वार्थका लागि प्रयोग हुनबाट बँचाएर देशको हितमा काम गर्ने बनाउनुपर्नेमा जोड दिए । उनले गैरआवासीय नेपाली संगठनले विधिसम्मत गरेका काममा सरकारको सधैँ साथ रहने बताए ।
प्रतिक्रिया दिनुहोस