काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माण कार्य अघि बढाउन दिने आदेश दिएको हो ।
सर्वोच्चले केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेको हो । बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो ।
पाथीभरामा केबलकारले वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्माणको बाटो खुलेको हो ।
गत चैत ७ गते दायर रिटमा सर्वोच्चले १३ गते हालसम्म भए गरेका काम कारवाहीलाई तत्कालको लागि यथास्थितिमा राख्न आदेश दिएको थियो ।
यामबहादुर लिम्बूसमेतले पाथीभरा देवी दर्शन केबलकार, फुङलिङ नगरपालिका, नेपाल सरकार आदिलाई विपक्षी बनाइ २०८१ चैत ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस