काठमाडौं । नेपाली काँग्रेसका सांसद् विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन् ।
हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न सांसद् निधीले आग्रह गरेका हुन् ।
उनले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गरे। उनले भने, ‘आज जेठ १ गते हो । जेठ १५ गते बजेट आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो, गणतन्त्र दिवस । गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको महत्व धेरै ठूलो हुन्छ ।’
उनले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बताए । ‘१५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसोभए संशोधन गरियोस् । सरकारलाई त भन्छु नै सभामुख महोदयलाई पनि आग्रह गर्दछु किनभने यो संसदको विषयमा पनि पर्छ । अरु विषयमा संशोधन नभए पनि संविधानमा संशोधन गर्ने दुई दलको समझदारी पनि भएको छ ।’ उनले थपे ।
सांसद निधीले संसदको विषय भएकाले पनि संसदमा विशेष ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस