काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले राज्य संयन्त्रहरू दलीय चक्रव्यूहमा फसाएर राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य संरचनाहरु चक्रव्यूहमा फसाएर नीहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भएपनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताए । उनले भने, ‘दलीयकरणको चक्रव्यूहमा हाम्रा राज्य संयन्त्रहरू कसरी फसेका छन्, हामी सबै जानकार छौँ । यो चक्रव्यूहमा संरचनाहरु फसाएर राजनीतिक दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा आफ्ना र आफन्तीका लागि प्रयोग गरिँदा त फाइदै भएको होला तर आम नागरिक, विश्व जगत र सबै चकित हुने गरी हाम्रो राज्यका संरचनाहरू दलीय चक्रव्यूहमा फसेका छन् ।’
उनले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भूल भइरहेको पनि बताए । आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने सम्भावना देखाउँदै उनले विगतमा पनि दलीयकरणको वाछिटा राष्ट्र बैंकमा परिसकेको स्मरणा गराए । उनले दलहरूले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा गरिरहेको अभ्यास निन्दनीय भएको बताए ।
उनले भने, ‘विगतमा दलीयकरणको बाछिटा राष्ट्र बैंकमा परेको थियो । त्यो राजनीतिक बाछिटाले विगतमा अर्थमन्त्रालयसँग राष्ट्र बैंकको द्वन्द सतहमै आएको थियो । बजेट नीति र मौद्रिक नीति कार्यान्वयनमा दलीय बाछिटाले कस्तो असर पार्यो सबै जानकार छौँ । यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्यो, निजी क्षेत्रलाई कसरी हतोत्साहित गर्यो ? यी चिज जान्दा जान्दै फेरि दलीयकरणको अभ्यासमा खुलम खुला रुपमा गरिँदै छ, त्यो निन्दनीय छ ।’
उनले विगतमा राष्ट्र बैंकमा दलीयकरणको प्रभावले पारेको असरबारे सिंगो सदनमा बहस गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस