२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

‘कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ’ : झलनाथ खनाल

बिहिवार , जेठ २, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प नभएको बताएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा उनले कम्युनिष्ट पार्टीहरूले आगामी दिनमा आफ्ना कमीकमजोरी सच्चाउँदै नयाँ धरातलबाट हिँड्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “यदि हामीले वैज्ञानिक समाजवादतर्फको यात्रा हिँडेको हो भने समाजवादी क्रान्तिलाई सम्पन्न गर्न आधारभूत विषय सम्बोधन गर्नुपर्नेछ ।” नेपाल पुँजीवादी व्यवस्थामा अगाडि बढिरहेको भए पनि वामपन्थी आन्दोलनको परिणामस्वरुप समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वलगायत विषय संविधानमा समेटिएको उनले उल्लेख गरे ।

“कम्युनिष्ट पार्टीले पुँजीवादी गणतन्त्रलाई उपयोग गरेर समाजवादी गणतन्त्रमा पुग्ने लक्ष्य राख्नुपर्छ”, नेता खनालले भने, “यथास्थितिको बाटोबाट गन्तव्यमा पुगिँदैन, अब क्रान्तिकारी कार्यक्रम र कार्यदिशा आवश्यक छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा जनवादी क्रान्ति सम्पन्न भएकाले वामपन्थी शक्तिले वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाएर त्यसको आधार तयार गर्नुपर्ने अहिलेको मुख्य दायित्व भएको बताए ।

“अब हाम्रो यात्रा समाजवाद, समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्नु हो”, उनले भने, “अहिले पनि नेपाली राजनीति, सामाजिक परिवेश र अर्थतन्त्रमा नोकरशाही पुँजीवादको नियन्त्रण कायम छ, यो मुख्य चुनौती हो । उत्पादन वृद्धि, स्वाधीन अर्थतन्त्र, राष्ट्रिय पुँजीको विकास गरेर नोकरशाही पुँजीवादविरुद्ध लड्न सबै एकजुट हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट