काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरु पार्टी निर्माणको चरणमै रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (एकीकृत समाजवादी) भर्खरै निर्माण गरेको पार्टी भएको बताउँदै देशभर बिस्तार गर्ने चरणमा रहेको बताए ।
उनले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट नभइसकेको बताए । नेतृत्व निर्माण गर्ने बेलामा विवाद गरेर बस्न नहुने भन्दै उनले संगठनलाई सफल बनाउन लाग्नुपर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले भने, ‘हामीले भर्खरै पार्टी निर्माण गरेका छौँ । हाम्रो पार्टी देशभर ७५३ वटा पालिका, सातै वटा प्रदेश, सबै ठाउँमा जुन तहको फैलावट हुनुपर्ने हो त्यो भइसकेको छैन । त्यसैले यतिबेला नेतृत्व निर्माण गर्ने बेलामा हामी विवाद गरेर, एक अर्कासँग झगडा गरेर, एक अर्काबीच असमझदारी सिर्जना गरेर गयौँ भने हामी यो संगठनलाई पनि सफल बनाउन सक्दैनौँ ।’
वरिष्ठ उपाध्यक्ष पाण्डेले देश निर्माण महिलाहरुको भुमिका अविष्मरणीय रहेको उल्लेख गरे । महिला नेतृत्वलाई अझ बढी सशक्त बनाउने काममा लाग्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस