काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढेको बताएका छन् ।
शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरिरहेकोले त्यसकाविरुद्ध एकजुट हुन एकीकृत समाजवादी आन्दोलनमा रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरे । उनले कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं विकृति र विसंगतिहरुसँग जुध्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आजको दिन नेपाली जनताका लोकप्रिय नेता जननेता मदन भण्डारी र पार्टीका अर्का वरिष्ठ नेता संगठन विभाग प्रमुख जीवराज आश्रित दुवै जनाको अत्यन्त रहस्यमय ढंगले हत्या भएको दिन हो । उहाँहरुको स्मृति दिवस आज । उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । उहाँहरुले देखाउनुभएको बाटोमा हामी अगाडि बढौं । युवा पुस्ता अघि बढौं । समाजवादको सपनालाई कम्युनिष्ट पार्टीबाहेक अरुले पूरा गर्न सक्दैन । कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएको हो । यस अर्थमा पनि यो आन्दोलनलाई हातेमालो गर्दै अगाडि बढाउँ । तपाईं हामी सधैं आन्दोलनका सहयोद्धाहरु हौं ।’
उनले थप भने, ‘कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं खालको विकृति विसंगतिहरुका बीचमा जुध्दै कम्युनिष्ट आन्दोलालाई नयाँ उचाइमा पुराउन क्रान्तिकारी सोचकासाथ मानिसहरुलाइ उभ्याउन हामी लागि परेका छौं । हाम्रो देशको विशेषतालाई राम्ररी बुझ्नु जरुरी छ । सफलतालाई उपभोग गर्न नजान्दा हामी कमजोर पनि भयौं । आफ्ना कमी कमजोरीलाई स्वीकार्दै आग्रह पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ । जनताको पीर मर्कासँग जोडिन सकियो भने असमानताका लागि लड्न सकियो भने बल्ल पार्टीको आन्दोलनको पनि उपादेयता हुन्छ । चाहे त्यो सामन्ती संस्कार होस्, कुरीति विरुद्ध जुध्दै आएका छौं । वर्तमानमा लोकतन्त्रमाथि खतरा चुनौति आएको छ । विगतमा उखेलेर फालिसकेको प्रतिगामी तत्वले पुनः टाउको उठाउने प्रयास गरिरहेको छ । त्यसैले त्यसलाई निस्तेज पार्नका लागि हाम्रो पार्टी आन्दोलनमा छ ।’
अध्यक्ष नेपालले मुलुकको परिस्थितिको आधारमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने विषयमा छलफल आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस