विराटनगर । नेपाली कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाले कोशीका तीनवटा बजेटमा कांग्रेस सबैभन्दा धरै उपेक्षित भएको बताएका छन् ।
कोशी प्रदेशसभाको आइतबारको बैठकमा थापाले भने, “हिजो के भएको थियो हामीले देखेकै हो । भोगेकै हो ।” अघिल्लो आर्थिक वर्षको बजेट तीनवटा निर्वाचन क्षेत्रभन्दा बाहिर नगएको बताउँदै उनले आउने बजेट अन्यायपूर्ण नहुने बताए ।
उनले भने, “कांग्रेसले त्यो तयारी गर्छ । सबै सांसदको गरिमा, गौरव र प्रतिष्ठा रहने गरी बजेट आउने दाबी गरे । पहिले ५० लाख दिन्छु भनेर पाँच रुपैयाँ पनि नदिने काम भयो, अब त्यो हुँदैन । सांसदको इज्जत रहने गरीको बजेट आउँछ ।”
उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु गलत नहुने बताउँदै मिल्नै नहुने भन्ने कतै नभएको सुनाए । “परिस्थितिले मिलायो त के गर्ने,” उनले भने ।
पूर्व मुख्यमन्त्री समेत रहेका थापाले सदनमा उभिएर राजा चाहियो भन्न नपाइने समेत बताए । उनले संविधान मानेर सदनमा आउने अनि राजा चाहियो भन्ने भाष्य गलत भएको बताए ।
“त्यो भन्न पाइँदैन । सदनमा बसेर राजा चाहियो भन्नु व्यावहारिक रूपमा ठिक भएन । कि त बाहिर जानुपर्यो । हिजो राजा हुँदा हामी सबै छाडेर सडकमा गएकै हो,” थापाले भने ।
प्रतिक्रिया दिनुहोस