काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाललगायतका नेताहरुलाई पेरिसडाँडामा बोकाइएको एजेण्डाको भारी उतै बिसाएर आउन आग्रह गरेका छन् ।
सुनौलो नेपालसँगको अन्तर्वार्तामा सल्लाहकार थापाले भने, ‘नेकपा एमाले पुन:स्थापित भइसकेपछि माधव नेपालहरु पेरिसडाँडाबाट प्रचण्डको एजेण्डा बोकेर फेरि बिदाई भए । तर, त्यो एजेण्डा उतै बिसाएर मात्र फर्किनुपर्छ ।’
माधव नेपाल लगाएतका नेताहरु पुन: एमालेमा फर्किँदा कम्तीमा पनि पार्टी, नेतृत्व, जनादेश, जनताप्रतिको विश्वासमा गरेको अपराधका निम्ती अपराध बोध गर्नुपर्ने उनको भनाई छ । त्यस्तै उनले माधव नेपाल जत्तिको नेताले अरुले हावा भर्दिएको भरमा हाइजम्प, लङजम्प गर्न नहुने पनि बताए । ‘हावा भर्दिएको भरमा हाइजम्प, लङजम्प गर्नु भएन नि ? आफू सिंगारिन तयार भएपछि प्रचण्डले त हावा मात्र भर्दिएका हुन् ।’– उनले भने ।
गत बैशाखदेखि यता जतिपनि विभाजनकारी, विखण्डनकारी, प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने, दु:ख दिने जस्ता कामहरु भए त्यसको मुख्य खलपात्र माधव नेपाल भएको थापाको आरोप छ । त्यस्तै प्रचण्डको पार्टी कब्जा गर्ने प्रयास सफल हुन नसकेपछि भड्किएको पनि सल्लाहकार थापाले आरोप लगाए । प्रधानमन्त्रीले दोस्रो पटक मृगौला प्रत्यारोपण गरिसकेपछि पार्टी कब्जा गर्न नसकिने भो भनेर प्रचण्ड स्तब्ध भएको उनको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ऋषि कट्टेलले भएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । यो सँगै अहिले प्रचण्ड पक्षमा रहेका एमाले नेताहरु पुन: पार्टीमा फर्किने भएका छन् ।