काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सचेतक रोकायाले गणतान्त्रिक व्यवस्था स्थापनाका निमित्त कुनै साइनो नै नभएका व्यक्ति र समूहबाट व्यवस्था असफल बनाउने कार्यहरु भइरहेको दाबी गरेका हुन् । उनले यसकाविरुद्ध गणतान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा तिनै क्रियाकलापमा बल पुर्याउने गतिविधिहरु सञ्चालन गरिनु सुखद् नभएको स्पष्ट पारे ।
सार्वभौम सम्पन्न सदनमा जनताका समस्या उठाउन जिम्मेवार रुपमा प्रश्तुत हुन नसकिरहेको भन्दै सत्तामा हुँदा एउटा र सत्ता बाहिर रहँदा अर्कै कुरा गर्ने प्रवृत्तिले जनतामा दलहरुप्रति अविश्वास पैदा भइरहेको उनको भनाई थियो ।
सचेतक रोकायाले एउटा कर्मचारीले गरेको गल्तीका आधारमा मन्त्रीले जिम्मा लिँदै राजीनामा दिँदै जाने हो भने अधिकांश मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउने दावी गरे ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई सामान्य सोधपुछ गर्दा राजीनामा दिनु नपर्ने भन्दै गृहमन्त्रीमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोधबाहेक केही नभएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस