२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

रास्वपा महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली : ओलीको सन्देश बोकेर जाँदै विश्वासपात्र नेता

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेले पूर्व–उपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित नहुने भएपछि पार्टीका तर्फबाट ज्ञवालीले प्रतिनिधित्व गर्ने भएका हुन् ।

स्वास्थ्य अवस्थाका कारण ओली उपत्यकाबाहिर जान सक्ने अवस्थामा नभएकाले ज्ञावलीलाई पठाउने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।  अन्य शीर्ष पदाधिकारीहरू पार्टीको ‘जागरण अभियान’ अन्तर्गत सुदूरपश्चिममा रहेकाले ज्ञवालीलाई महाधिवेशनमा पठाउने निर्णय गरिएको हो।

एमालेका उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईलगायत केही पदाधिकारी काठमाडौंमै भएपनि ति नेताहरुलाई नपठाएर ओलीले ज्ञवालीलाई रोजेका छन् । पछिल्लो समय एमालेभित्र विकसित नेतृत्व पुनर्गठन तथा भावी नेतृत्वसम्बन्धी बहसमा उनीहरू ओलीको लाइनभन्दा फरक धारमा देखिएका छन्। यस्तो अवस्थामा ज्ञवालीलाई प्रतिनिधिका रूपमा अघि सारिनुलाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनसँग समेत जोडेर हेरिएको छ ।

  • एमालेका उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईलगायत केही पदाधिकारी काठमाडौंमै भएपनि ति नेताहरुलाई नपठाएर ओलीले ज्ञवालीलाई रोजेका छन् ।

पछिल्ला महिनाहरूमा एमालेभित्र अध्यक्ष ओलीको बहिर्गमनपछि नेतृत्व हस्तान्तरणबारे बहस चर्किएको छ। केही नेताहरूले पुस्तान्तरण र नयाँ नेतृत्वको आवश्यकता औंल्याइरहेका बेला ज्ञवाली भने सार्वजनिक रूपमा ओली नेतृत्वको निरन्तरताको पक्षमा उभिएका छन्। लुम्बिनी प्रदेशस्तरीय भेलामा उनले ओली बहिर्गमनको मागलाई अस्वीकार गर्दै पार्टीलाई अझै ओलीकै नेतृत्व आवश्यक रहेको बताएका थिए।

यही कारण ज्ञवाली पछिल्लो समय अध्यक्ष ओलीका विश्वासपात्र नेतामध्ये एकका रूपमा स्थापित भएका छन्। रास्वपाको महाधिवेशनमा उनको उपस्थितिलाई केवल औपचारिक शुभकामनाका रूपमा मात्र नभई एमाले नेतृत्वको राजनीतिक सन्देशका रूपमा पनि व्याख्या गर्न थालिएको छ।

ज्ञवाली र ओलीबीचको राजनीतिक सम्बन्धले पनि यो निर्णयलाई अर्थपूर्ण बनाएको छ। एमालेको १०औँ महाधिवेशनअघि ज्ञवाली महासचिव पदका आकांक्षी थिए। तर अध्यक्ष ओलीले शंकर पोखरेललाई पुनः महासचिव बनाउने निर्णय गरेपछि ज्ञवाली प्रतिस्पर्धाबाट पछि हटेका थिए। 

त्यसयता पार्टीभित्रको समीकरणमा उल्लेखनीय परिवर्तन आएको छ। महासचिव पोखरेल पछिल्लो समय नेतृत्व हस्तान्तरणको बहसमा खुलेका नेतामध्ये एक मानिन्छन् भने ज्ञवाली ओलीको नजिक पुगेका छन्। 

रास्वपाको महाधिवेशनमा ज्ञवालीको उपस्थितिले एकातिर दुई दलबीचको औपचारिक राजनीतिक सम्बन्धलाई निरन्तरता दिनेछ भने अर्कोतर्फ एमालेभित्र विकसित नयाँ राजनीतिक समीकरणको संकेत पनि दिने अपेक्षा गरिएको छ । ज्ञवाली समन्वयात्मक नेताका रुपमा चिनीने गरेका छन् । रास्वपा र एमाले बीचको सम्बन्ध राम्रो छैन । सम्बन्ध सुधारका लागि पनि ओलीले ज्ञवालीलाई अघि सारेको हुन सक्ने एमालेका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ