काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छिन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्।
उनले गृहमन्त्री लेखक सुसंस्कृत र संस्कार भएको राजनीतिज्ञ रहेकाले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन् । उनले देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भएपनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन्। छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ ।
सांसद कार्कीले भनिन्, ‘हाम्रो माननीय गृहमन्त्रीज्यु रमेश लेखकलाई हामीले सुसंस्कृत, संस्कार भएको राजनीतिक कर्मीको रुपमा चिन्छौँ । तर अहिले जुन किसिमको एउटा मानव तस्करीको, संगठित अपराधको, सम्पती शुद्धिकरणको विषय व्यापक रुपमा भिजिट भिसाको कुरा उठेको छ । कति वटा उर्दु सायरीहरु पनि भन्नुभएको याद छ । हामीले गृहमन्त्रीको कुनै दोष छ भनेका छैनौँ, तर एउटा नैतिकताको कुरा आफैँबाट हुनुपर्छ ।’
सुसंस्कृति राजनीतिक अभ्यास गरेको मान्छेबाट राजीनामाको अपेक्षा गरेको बताउँदै उनले भनिन्, ‘गृहमन्त्रीज्युले पहिल्यै दिन राजीनामा दिएको भए उचाई अझ ठूलो हुन्थ्यो । अझै पनि अपेक्षा छ, देशमा यति ठूलो मानव तस्कारको काण्ड उठिसकेपछि, सदनमा प्रतिपक्ष सबै उठेर विरोध गरिरहेका छन् भने १५ दिन राजीनामा दिएपनि हुन्छ । त्यसपछि फेरि छानविन भएर फर्किएर आउन सकिहालिन्छ ।’
सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस