काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुने नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको चेतावनी दिएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।
नेकपा एमालेसँग आवद्ध, सम्बद्ध नेता वा कार्यकर्ता गुटगत भेलामा नगर्न , नगराउन त्यस्ता भेलामा सहभागी नहुन, नजान आग्रह गर्न चाहन्छु’, उनले भने, ‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन।’
ओलीले पार्टीमा अनुशासित भएर, विचारमा केन्द्रीत भएर काम गर्नुपर्ने बताए। गुटगत भेला गर्दै हिंड्ने, अनुशासनको पालना नगर्नेलाई पार्टी विधान अनुसार कारवाही गर्ने चेतावनी ओलीले दिए।
पार्टीमा अनुशासित भएर काम गर्नुपर्छ, ओलीले भने, ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ। कानून र संसद नियमावली छ। दल सम्बन्धी कानून छ। म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले पार्टीमा आएर सच्चिएर काम गरे आफूहरुलाई स्वीकार गर्ने बताउँदै तमसा देखाउन खोजे कारबाही गर्ने चेतावनी दिए।