काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । बैठक अपराह्न चार बजे शीतलनिवासमा बस्ने र उक्त बैठकमा समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेतालाई सर्वदलीय बैठकमा बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बैठकमा आह्वान गरिएको छ।
गत पुस ५ मा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस केहि मिनेटमै सदर गरेपछि अस्थिर बन्दै गएको राजनीतिक घटनाक्रमका बीच राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ।
प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउनुपर्ने भन्दै विपक्षी दलहरु लगातारको छलफलमा रहेका छन् भने सत्तारुढ एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल समूहसमेत ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा रहेका छन्।
प्रधानमन्त्रीबाट हटाउन सबै दल एकजुट भएपछि यतिबेला प्रधानमन्त्री ओली कमजोर देखिएका छन्। जुन कुरा सोमबार (हिजो)को धुम्बाराही बैठकले पनि संकेत गर्छ। आफूले जहाँ बोलायो त्यहिँ नै बैठक हुने अडान राखेका ओली माधव नेपाल समूह बालुवाटार जान नमानेपछि अन्तत: पार्टी कार्यालयमा नै पुगे।
जबजब प्रधानमन्त्री ओली कमजोर देखिन्छन तबतब राष्ट्रपति भण्डारी सक्रीय हुँदै आएको देखिन्छ। सर्वोच्च अदालतले खारेज गर्नुभन्दा अगाडीको नेपाल कम्युनिष्ट पार्टी नेकपामा ओली अल्पमतमा पर्दा र कमजोर हुँदा पनि राष्ट्रपति भण्डारीले सक्रीयता देखाएकी थिइन्। उनले तात्कालिन नेकपाको विवाद मिलाउन उपाध्यक्ष वामदेव गौतमलाई शीतलनिवास बोलाएर भूमिका खेल्न सुझाएकी थिइन्। नेकपामा विवाद चर्केकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई बोलाएर राष्ट्रपति भण्डारीले मिलेर जान सुझाव दिएकी थिइन्।
प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धि अध्यादेश जारी गर्दा होस् या संवैधानिक नियुक्तिसम्बन्धि अध्यादेश जारी गर्दा होस् वा प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा होस् , राजनीतिक दलहरु, कानून व्यवसायीहरुसंग कुनै पनि परामर्श गर्न जरुरि नठान्ने राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको पद धरापमा पर्ने देखेपछि सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीका लागि सहज वातावरण निर्माणका लागि भूमिका खेलेको अनुमान गर्न सकिन्छ ।
राष्ट्रपति भण्डारी यही चैत ९ र १० गते बङ्गलादेश भ्रमणमा जाँदै छिन्। आफू भ्रमणमा रहेका बेला कुनै पनि असहज र अप्रिय कदम नचाल्न दवाव दिन र प्रधानमन्त्री ओलीका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएको सजिलै बुझ्न सकिन्छ।