काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको सर्वदलीय बैठकमा तीन पूर्वप्रधानमन्त्री नजाने भएका छन्।
पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई बैठकमा नजाने भएका हुन्।
राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता बैठकमा नजाने आफूले बुझेको नेपाल समूहका नेता योगेश भट्टराईले बताए।
डा. भट्टराई भने स्वास्थ्यमा समस्या भएका कारण बैठकमा सहभागी हुन नसक्ने उनको सचिवालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।