काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शितलनिवासमा बोलाएको सर्वदलीय बैठकमा लोकतन्त्र सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलहरुले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै धन्यवादसमेत दिएकी छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो कदमको बचाऊ गर्दै संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ने भनाइ राखेको बैठकमा सहभागी एक नेताले बताए ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आफ्नो कदमलाई बचाउ गरेको भन्दै उनले भने, ‘बैठकमा संसद विघटन गरेर नयाँ जनादेशम जानुको विकल्प छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको हो ।’
कांग्रेस नेता रामचन्द्र पौडेलले भने प्रधानमन्त्रीको उक्त भनाइप्रति असन्तुष्टी जनाएको उनले बताए ।
नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भने राजनीति पार्टीहरुबीच छलफल गरि संसदबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
नेताहरुले राष्ट्रपतिलाई बंगलादेश भ्रमणको सफलताको शुभकामना दिएका थिए ।