काठमाडौं । नेकपा (एमाले) माधव नेपाल समूहले बोलाएको राष्ट्रिय भेलाप्रति पार्टी अध्यक्ष केपी ओली समूहले आपत्ति जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी पार्टीले चैत ४ र ५ गते भेलाको आयोजना नगरेको बताएका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)का तर्फबाट त्यस्तै कुनै पनि भेला आयोजना गरिएको छैन ।’
भेलामा सहभागी नहुनसमेत पोखरेलले निर्देशन दिएका छन् । उनले भनेका छन् ‘यस्ता अनिाधिकृत गुटगत भेला नगर्न-नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता-कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।’
भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने चेतावनीसमेत दिइएको छ ।