काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज र भोलीका लागि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया सुरु गर्न राजधानीमा राष्ट्रिय भेला बोलाइएको हो ।
भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
तोकिएकै समय र स्थानमा भेला हुने जानकारी दिँदै भट्टराईले केपी ओली समूहलाई लक्षित गर्दै ‘छुलिया ग्याङ्ग’को कु-प्रचारको भ्रममा नपर्न अनुरोध गरेका छन् ।
नेकपा (एमाले) माधव नेपाल समूहले बोलाएको राष्ट्रिय भेलाप्रति पार्टी अध्यक्ष केपी ओली समूहले आपत्ति भएको भन्दै मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेका थिए । उनले नेकपा एमालेले चैत ४ र ५ गते भेलाको आयोजना नगरेको उल्लेख गरेका थिए ।
भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने चेतावनी समेत दिइएको थियो ।