काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राख्नुभएको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ ।
यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभामा रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर अवरोध गर्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि उनीहरूको छ ।
यी माग पूरा गर्न सरकार तयार नभएको भनेर रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस