रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले 'प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने' भन्ने समाचार भ्रामक भएको भन्दै खण्डन गरेको छ ।
नेपाली कांग्रेस लुम्बिनीले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने कुनै औपचारिक निर्णय नभएको उल्लेख गरेको हो ।
असार १ गते नेपाली कांग्रेसबाट आर्थिक मामिला मन्त्री बनेका धनेन्द्र कार्कीले ल्याएको बजेटमा कांग्रेसबाटै सरकारमा रहेका मन्त्री, सांसदहरुसहित सरकारको नेतृत्व गरेको नेकपा एमाले तथा अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि दुई दिनअघि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।
सो बैठकमा सांसदहरूले आफ्नै पार्टीबाट अर्थमन्त्री हुँदा पनि आफूहरूलाई बेवास्ता गरेको बजेट आएको भन्दै असन्तुष्टि राखेका थिए । बैठकमा केही सांसदहरूले सरकारमा बसेर नतिजा दिन नसक्ने मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउन माग गरेका थिए । तर, यो विषय बाहिर आउँदा कांग्रेसले सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको भन्दै आएको समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ ।
‘मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै छलफल वा निर्णय भएको हैन । यथार्थ नबुझी भ्रम सिर्जना गरिनु खेदजनक छ।’ - कांग्रेस प्रमुख सचेतक जमुना ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्रदेश सरकारले ल्याएको बजेटसँग जोडिएर देखिएका समस्यालाई लोकतान्त्रिक विधिबाटै सबैको सम्मान हुने गरी समाधान गर्न पार्टीले पहल गरिरहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस