काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रस्तावसहित फ्रान्स प्रस्थान गरेका छन्।
पेरिसमा आयोजना हुने युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी भई उनले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटको महत्व औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ।
मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए। मन्त्रालयका अनुसार उक्त भ्रमण तिलौराकोटको अन्तर्राष्ट्रिय पहिचान दिलाउने दिशातर्फको कोसेढुङ्गा सावित हुनेछ।
शाक्यवंशीय प्राचीन राजधानीको रूपमा चिनिने तिलौराकोट ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। विशेषगरी गौतम बुद्धको बाल्यकाल तिलौराकोटमै बितेको मानिन्छ।
यही ऐतिहासिक मूल्य र महत्वका आधारमा तिलौराकोटलाई युनेस्कोको सूचीमा समावेश गरिनुपर्ने माग स्थानीयस्तरमै लामो समयदेखि उठ्दै आएको छ।

त्यसै सन्दर्भमा तिलौराकोट सूचीकरण अभियानमा निरन्तर लागिरहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामा पनि केही दिनअघि नै फ्रान्स पुगिसकेका छन्। उनी बैठकका लागि आवश्यक तयारी तथा समन्वयमा संलग्न रहेका छन्। त्यसैगरी कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई समेत उपस्थित रहेका छन्।
पर्यटन मन्त्रालयले तिलौराकोटलाई विश्वसामु चिनाउन आवश्यक प्रक्रिया अघि बढाइसकेको र यसको ऐतिहासिक एवं सांस्कृतिक योगदानको प्रचार–प्रसारमा निरन्तर सक्रिय रहेको जनाएको छ।
बैठकमा नेपाल पक्षको प्रस्ताव पारित भएमा तिलौराकोट युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश हुनेछ, जुन नेपालका लागि एक ऐतिहासिक उपलब्धि हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस