२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा. सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।

उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उनको भनाइ छ । आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गरे ।

“मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठीक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्र्तगत बनेको कानुन र नन–मेडिकल मान्छेहरुले गर्ने ?”, सांसद डा शर्माले भने, “चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लजास्पद र दुखद् हो ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।

सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रुपमा पुनःस्थापना र भूकम्पपीडित नागरिकको जीवनरक्षा एवं सम्मानजनक पुनःस्थापनाको माग गरे । पुनःनिर्माण व्यावहारिक नहुँदा यी घरहरुमा बसोबास गर्न जोखिमपूर्ण भएको उनले बताए ।

“जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरु अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेको छन् । बाढीपहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरुको पीडा झन गहिरिएको छ”, सांसद बस्नेतले भने, “भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण ढिलाइ नगर्न आग्रह गर्छु ।” नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चन्द्रबहादुर विश्वकर्माले भूकम्प प्रभावितको समस्या समाधानमा जोड दिन आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरुप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राखे । उनले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम भएको भन्ने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गरे ।

“मन्त्री सिंह र बागमति सभ्यता र विपद् व्यवस्थापन निकायहरुसँग छलफल गर्दा त्यस्तो कुनै कार्यक्रम नगरिने जवाफ पाएँ, त्यसका लागि आभार व्यक्त गर्छु । भविष्यमा पनि यस्तो काम नहोस्”, सांसद केसीले भने ।

मञ्जश्री गल्छी धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान भएको उल्लेख गर्दै उनले यस स्थानलाई यसको संरक्षणलाई ध्यान राख्दै डुबानको जोखिम कम गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट