२७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको सक्रिय पहल र प्रयासपछि लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट एक वर्षका लागि हटेको छ।
फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं बैठकले लुम्बिनीलाई तत्कालका लागि उक्त सूचीमा नराख्ने निर्णय गरेको हो।
कोषका उपाध्यक्ष डा. लामा कार्यक्रम शुरु हुनु भन्दा एक हप्ता पहिले नै पेरिस पुगेर निरन्तर कूटनीतिक भेटघाट र छलफल गरेका थिए। लामाले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, भारतीय राजदूत विशाल शर्मा, युनेस्को वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोस अध्यक्ष टेरेसा प्याट्रिसियोलगायतसँग छलफल गरेर खतराको सूचीबाट हटाउन सकारात्मक वातावरण निर्माण गरेका थिए ।
डा. लामाका स्वकीय सचिव श्याम रोकाका अनुसार लुम्बिनीमा भएको संरक्षण सुधार, कानुनी स्पष्टता, एसओपी रिपोर्ट र अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजनासहितका प्रयासका कारण पनि युनेस्को सकारात्मक बनेको हो।
यसैबीच, बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार क्षेत्रलाई पनि युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम छलफल हुँदैछ। कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईका अनुसार प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तिलौराकोट सूचीकृत भएमा कपिलवस्तु क्षेत्रको ऐतिहासिक र पर्यटन विकासलाई नयाँ गति मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस