२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका लागि अफ्रिकी मुलुक रुवाण्डा विश्वमै एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताएका छन् ।

भूपरिवेष्टित एवं अल्पविकसित मुलुक रुवाण्डाको ३१औँ मुक्ति दिवसको उपलक्ष्यमा सभामुख घिमिरेले केही वर्षअघि मात्र कूटनीतिक सम्बन्ध कायम भएको रुवाण्डासँग पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, व्यापारलगायतका क्षेत्रमा सहकार्य गरी लाभान्वित हुनसक्ने सम्भावना रहेको बताए ।

द्वन्द्वका कारण अपुरणीय धनजनको क्षति व्यहोरेका दुवै देशले राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै उनले अल्पविकसित राष्ट्रका हैसियतले आपसी सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिइ दुवै देशका जनताको जीवनस्तर सुधारका पक्षमा यथासक्य बढी सहकार्य हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

भारत र नेपालका लागि गणतन्त्र रुवाण्डाकी राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, लैङ्गिक समानता, समावेशी सहभागिताजस्ता महत्वपूर्ण एवं आधारभूत पक्षलाई प्राथमिकता दिइ तीव्र आर्थिक वृद्धिदरका साथ रुवाण्डा अहिले विकास र समृद्धिको बाटोमा अघि बढिरहेको जानकारी दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिइ शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रुवाण्डाबाट समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने सन्दर्भमा पाठ सिक्नुपर्ने धारणा व्यक्त गरे ।

रुवाण्डाको अवैतनिक परिषद्का ‘डिन’ को भूमिकामा रहेका उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालका अनुसार सन् २०१५ मा प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर मात्र भएको रुवाण्डामा कुल ग्राह्स्थ उत्पादन १० प्रतिशतसम्म वृद्धि भइ अहिले प्रतिव्यक्ति आय ८०० अमेरिकी डलर पुगेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ मा हत्याहिंसा र द्वन्द्वको चपेटाबाट मुक्त भएको रुवाण्डाले आन्तरिक तथा वाह्यदेशको समेत लगानी आकर्षित गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा अतुलनीय प्रगति गरेको बताए ।

सो कार्यक्रमको आयोजक समेत रहेका नेपालका लागि रुवाण्डाका अवैतनिक दूत प्रज्वलजङ्ग पाण्डेले नेपाल र रुवाण्डाबीचको व्यापारव्यवसाय प्रबद्र्धन, दिगो शान्ति र समृद्धि तथा कूटनीतिक सम्बन्ध विस्तारका पक्षमा आफूले सक्दो प्रयास गरिरहेको बताए। उनले लगानीका हिसावले सहकार्यका क्षेत्रहरूको पहिचान गरी दुवै देशका जनतालाई लाभान्वित तुल्याउन आवश्यक सहकार्य गरौँ भने ।

विश्वमै कफी उत्पादन तथा निर्यातमा महत्वपूर्ण योगदान रहेको रुवाण्डाले दिगो शान्ति, द्वन्द्वरत पक्षबीचको मेलमिलाप, पुनःनिर्माणसहित विश्वशान्तिका पक्षमा मौलिक तथा उदाहरणीय काम गरेको सो अवसरमा बताइयो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट