काठमाडौं । समाजसेवी तथा 'माइती नेपाल'की संस्थापक अध्यक्ष अनुराधा कोइरालाले जीवनमा अनुशासन अति आवश्यक र महत्वपूर्ण पक्ष भएको बताएकी छिन् ।
आज शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित 'राष्ट्रिय युवा महोत्सव' कार्यक्रममा उनले भनिन्, ‘आफूलाई अनुशासनमा नराख्ने हो भने देशभित्र मात्र होइन, तपाईं संसारको जुनसुकै देशमा गएपनि केही गर्न सक्नुहुन्न ।’
विद्यालय शिक्षा ‘कक्षा १२’ बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस) ले आयोजना गरेको 'युवा महोत्सव'मा उपस्थित युवाहरुमाझ उनले आफ्ना अनुभवहरु सुनाएकी हुन् ।

सोही क्रममा समाजसेवी कोइरालाले अबको युवाहरुलाई आफूसँग हातेमालो गरेर देशभित्रै मानव बेचवेखिनविरुद्ध लाग्न अनुरोध गरिन् । पहिले आफ्नै घर सफा हुनुपर्ने उदाहरण दिँदै अझै पनि देशभित्रै हुने १३ देखि १९ वर्ष भित्रका बालबालिकाको बेचविखन नरोकिने हो भने नेपाल दोस्रो 'कमाथिपुर' बन्ने खतरा रहेको उनको भनाइ छ । कमाथिपुर भारतको सबैभन्दा ठूलो 'बेश्यालय' हो ।
सिएनएन हिरोको उपाधिले समेत सम्मानित भइसकेकी अनुराधाले आफ्नो लागि सबै उपाधिहरु भार भएको बताइन् । उनले भनिन्, ‘जबसम्म मैले मेरो देश सफा गरिसक्दिन तबसम्म मलाई उपाधिले अर्थ लाग्दैन, भार महशुस हुन्छ ।’
बेश्यावृत्ति, बेचविखन, बाल हिंसा रोक्ने जस्ता विषय आफ्नो मात्र नभएको बताउँदै उनले देशलाई चेलिबेटी बेचबिखन मुक्त देश बनाउन सबैले हातेमालो गर्न आग्रह गरिन् ।
आफ्नो व्यक्तिगत संघर्षबाट प्रेरित भई महिला सशक्तिकरण र मानव तस्करीमा परेकाहरुका लागि न्याय र सम्मान दिन अनुराधा अहोरात्र प्रतिबद्ध भएर लागिरहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस