२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

अविरल वर्षाका कारण रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

मंगलवार , श्रावण १३, २०८२

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए।

डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक सञ्चालन गर्न अहिले जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी सारुले बताए ।

त्यसैगरी दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक मानिसलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एक सय ८० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

त्यसैगरी, बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।

आज बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेलाबेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युत्को पोल पनि जोखिममा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार