रसुवा । रसुवाको ल्हेन्दे खोलामा बाढी आएको छ । बुधबार बिहान १ः५५ बजे एक्कासि ठुलो भेलबाढी आएको हो । गोसाइकुण्ड गाउँपालिकास्थित ल्हेन्दे खोलामा चीनमा परेको पानीका कारण बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
“अहिले पनि बाढीको सतह उच्च रहेकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिन्छ,” प्राधिकरणले भनेको छ, “खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठदाउरा टिप्न जानेजस्ता कार्य नगर्न आग्रह छ ।”
उक्त भेलबाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटोमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनले बाढीका कारण कुनै पनि मानवीय क्षति नभएको बताए । बाढी आउनेबित्तिकै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताए। धितालले बाढीले त्रिशूली जलविद्युत आयोजनामा क्षति पुर्याएको जानकारी दिए । अहिले पानीको बहाब विस्तारै घट्दै गएको उनले बताए ।
रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार भारी वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको छ ।
गत असार २४ गते ल्हेन्दो खोला भेलबाढी आउँदा २० जना बेपत्ता भएका थिए। त्यसमध्ये केहीको शव फेला परेको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो।
त्यतिबेला केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू बगाएको थियो। त्यस्तै स्याफ्रुबेसीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो।
प्रतिक्रिया दिनुहोस