विराटनगर । कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाले गरेका उपलब्धि र कामको अपेक्षाकृत प्रचार प्रसार हुन नसक्दा नागरिकले त्यसको मूल्याङ्कन गर्न नपाएको बताएका छन् ।
संसदीय पत्रकार मञ्च कोसी प्रदेशले बिहीबार विराटनगरमा आयोजना गरेको समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख विष्टले प्रदेश सभाले महत्वपूर्ण निर्णय र कार्यक्रम अघि सारे पनि मिडियाको ध्यान अपेक्षाकृत रूपमा त्यसमा केन्द्रित हुन नसकेको गुनासो गरे ।
“प्रदेश सभाभित्र नागरिकका सवाल र जनजीविकाका विषयहरू माननीयहरूले निरन्तर उठाइरहनुभएको छ,” सभामुख विष्टले भने, “तर मिडियामा भने गाना–बजाना र हल्का विषयले मात्रै प्राथमिकता पाइरहेका छन्, जसका कारण असल काम नागरिकसम्म पुग्न सकेको छैन ।”
विष्टका अनुसार, प्रदेश सभाले हालै महिला सांसदहरूको मञ्च गठन, क्षमता विकासका कार्यक्रम, विद्यालय स्तरसम्म संसदीय गतिविधि पु¥याउने पहल, उपप्रमुखसँग किशोरी संवाद जस्ता कार्यक्रम अघि बढाएको छ । साथै, अन्य प्रदेशका अनुभवलाई उपयोग गर्न सञ्चालन नियमावली संशोधनको अन्तिम तयारी समेत भइरहेको उनले जानकारी गराए । “अन्य प्रदेशबाट सिकेका अभ्यासलाई कोसी प्रदेश सभामा प्रयोग गर्न अब नियमावली संशोधन गर्दैछौँ,” उनले थपे ।

अन्तरक्रिया कार्यक्रममा उपसभामुख सिर्जना दनुवारले पनि प्रदेश सभाका काम कारबाहीलाई जिल्ला जिल्लासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याइन् । उनले अन्तर प्रदेश भ्रमणलाई गलत रूपमा व्याख्या गरिएको भन्दै त्यसबाट प्राप्त सिकाइ कोसी प्रदेशका लागि महत्त्वपूर्ण रहेको बताइन् ।
“सभामुख र उपसभामुख सधैं निवासमै बस्ने होइन,” दनुवारले भनिन्, “अन्य प्रदेशका अनुभवले हामीलाई रिफ्रेस गर्छ, अभ्यास गर्न सिकाउँछ र प्रदेश सभाको कामलाई अझ व्यवस्थित बनाउँछ ।”
कार्यक्रममा सामाजिक विकास समितिका सभापति गयानन्द मण्डल, प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिका सभापति होमबहादुर थापा, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल, सुशासन तथा योजना समिति सभापति खगेश्वरी पौडेल, अर्थ समितिका सभापति विनोद राई लगायतले पनि प्रदेश सभाका व्यवहारिक पक्षबारे नागरिकमा पर्याप्त जानकारी नपुगेको बताए ।
उनीहरूले विकासको असन्तुलित वितरण, भ्रष्टाचार र अनियमितताका विषयमा मिडियाले गहिरो अनुसन्धानसहित समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए । साथै, जनतामा भ्रम सिर्जना हुने खालका अपुष्ट खबरप्रति पनि सतर्क रहन पत्रकारहरूलाई आग्रह गरे ।
मञ्चका अध्यक्ष कुमार लुइँटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुमन सुस्केराले संसदीय पत्रकार मञ्चले कोसी प्रदेशमा गरेका काम, विधेयक र ऐनमाथि दिएको सुझाव तथा प्रतिवेदनबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस