काठमाडौं । हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेडले गाजामा राखिएका ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको संकलित फोटोमा नेपालका विपिन जोशीको अनुहार पनि समावेश गरिएको छ ।
‘बिदाइ तस्वीर’ भनेर प्रचार गरिएको भए पनि ती बन्दीहरूको अवस्थाबारे स्पष्ट जानकारी भने दिइएको छैन । इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार, हमासले यो कदम बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब सिर्जना गर्न उठाएको हो ।
हमासले इजरायलको निरन्तर स्थल तथा हवाई आक्रमणले गाजामा राखिएका बन्दीहरूको जीवन जोखिममा परेको जिकिर गरेको छ । अल जजिराका अनुसार, इजरायली सेनाले घेराबन्दी गरिएको गाजा सहरमा ठूलो कारबाही सुरु गर्ने तयारी गरिरहेको बेला यो तस्वीर सार्वजनिक गरिएको हो ।
सार्वजनिक फोटोमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ र सबैलाई “रोन अराड” भनेर क्याप्सन दिइएको छ । ‘रोन अराड’ सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक पाइलटको नाम हो, जसको अवस्थाबारे अझै अनिश्चितता छ । हमासले यो संकेतमार्फत हालका बन्दीहरूको भविष्य पनि त्यस्तै अनिश्चित हुन सक्ने सन्देश दिन खोजेको बताइन्छ ।
इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दी जीवित रहेको विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने टिप्पणी गरेका छन् । नेतान्याहू र ट्रम्प दुवैले सबै बन्दीलाई फर्काउने र हमासलाई ध्वस्त गर्ने अडान दोहोर्याएका छन् ।
यता, बन्दीका परिवारहरूले इस्रायली सरकारलाई तत्काल आक्रमण रोक्न र सम्झौतामार्फत आफ्ना प्रियजनलाई सुरक्षित फर्काउन माग गर्दै आएका छन् । इजरायलका विभिन्न शहरमा हजारौँ मानिस सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
यसअघि पनि हमासले दुई–दुई पटक बन्दीहरूको भिडियो सार्वजनिक गरेको थियो, जसमा कतिपय कमजोर अवस्थामा देखिएका थिए । यसपटक सार्वजनिक गरिएको ‘बिदाइ तस्वीर’ले भने गाजामा अझै रहेका बन्दीहरूको अवस्थाप्रति थप शंका र चिन्ता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस