चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण दुई दिनदेखि सवारी आवागमन ठप्प भएपछि सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। भोकभोकै र असहज अवस्थामा रहेका यात्रुहरूलाई सहयोगस्वरूप चितवनका युवा व्यवसायी चन्दन अग्रवालले ट्रकभरि खानेकुरा पठाएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनमार्फत अग्रवालले पानी, चाउचाउ, भुजा, चिउरा र बिस्कुटलगायत सामग्री उपलब्ध गराएका हुन्। प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाली सेनाका कर्णेल दिनेश लामा, सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र न्यौपाने र ट्राफिक प्रहरी निरीक्षक गायत्रीराज शर्मासहितको उपस्थितिमा सहयोग सामग्री यात्रुहरूबीच वितरण गरिएको हो।
सडक अवरुद्ध हुँदा सयौँ यात्रु मात्र होइन, सुरक्षाकर्मी र चालकहरू समेत कष्टकर अवस्थामा परेका थिए। अग्रवालले पठाएको खानेकुरा र पानी यात्रुहरूका साथै सुरक्षाकर्मी र चालकलाई पनि वितरण गरिएको थियो।
“अलपत्र यात्रुहरूको पीडा देख्दा चित्त बुझेन। सकेको सानो सहयोगका रूपमा खानेकुरा पठाउन पाउँदा खुसी छु,” अग्रवालले भने। उनका अनुसार करिब दुई हजारभन्दा बढी यात्रुलाई राहत स्वरूप खानेकुरा र पानी वितरण गरिएको छ।
यात्रुहरूले आपत्को घडीमा युवा व्यवसायीले देखाएको सामाजिक उत्तरदायित्व र प्रशासनको सक्रियताप्रति आभार व्यक्त गरेका छन्। प्रशासनले पनि विपत् व्यवस्थापनमा निजी क्षेत्रको सहभागितालाई सराहना गर्दै यस किसिमको सहयोग उदाहरणीय रहेको जनाएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरो खस्ने समस्या बारम्बार दोहोरिने गरेको छ। यसपटक पनि निरन्तर वर्षाका कारण खसेको ठूलो पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू कठिनाइमा परेका छन्। यस्ता बेला समाजका सचेत युवाले देखाउने सहयोग यात्रुहरूको ठूलो राहत बनेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस