विराटनगर । जेनजी आन्दोलनका कारण बन्द रहेका नेपाल–भारत सीमा जोड्ने कोशी प्रदेशका पाँच नाकामा क्रमशः चहलपहल बढ्न थालेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको रानी–जोगबनी, सुनसरीको भन्टाबारी–भीमनगर, इलामको पशुपतिनगर–सुकेपोखरी, झापाको भद्रपुर–गलगलिया र काँकडभिट्टा–पानीटंकी नाकामा चहलपहल बढ्न थालेको हो ।
प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार अहिले नाकाहरू पुरानै गतिमा फर्किएका छैनन् तर अवस्था सहज बन्दै जाँदा पूर्ण रूपमा सञ्चालन हुने अवस्थामा छन् । उनका अनुसार सर्वसाधारणको आवतजावत सुरु भएको छ भने काँकडभिट्टा, जोगबनी, भद्रपुरलगायतका ठूला भन्सार नाकाबाट आयात–निर्यात पनि विस्तारै बढ्न थालेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले काँकडभिट्टा र भद्रपुर नाकाबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुहरूको आयात सुरु भएको बताए । तर सीमा क्षेत्रमा देखिएको असुरक्षा र तनावका कारण भारतीय अर्धसैनिक बल (एसएसबी) अझै कडाइ गरिरहेका छन् । बिरामी, हवाई यात्रु र अत्यावश्यक कामका लागि भने आवतजावत सहज गरिएको छ ।

विशेषगरी पश्चिम बंगाल सरकारको कडाइका कारण काँकडभिट्टा नाका पूर्ण रूपमा सहज हुन केही समय लाग्ने देखिएको प्रजिअ अधिकारीले जानकारी दिए । जेनजी आन्दोलनपछि बंगालका राज्यपाल सी.भी. आनन्द बोसले सीमा क्षेत्रको अनुगमन गरेपछि बंगालको सुरक्षा संयन्त्रले थप निगरानी बढाएको हो ।
आन्दोलनकै क्रममा झापाको व्यस्त मेची भन्सार कार्यालयमा भएको क्षति कारण सेवा सुचारु हुन सकेको छैन् । जेनजी आन्दोलनका क्रममा अराजक भीडले कार्यालय र वरपरका सरकारी संरचनामा आगजनी र तोडफोड गर्दा सम्पूर्ण भवन र सामग्री जलेर खरानी भएका छन् । भन्सार प्रमुख हरिहर पौडेलका अनुसार प्रशासनिक भवन, दुई गोदाम, यात्रु शाखा, जाँच केन्द्र र एजेन्ट कार्यालय सबै पूर्ण रूपमा नष्ट भएका छन् ।
आगजनीमा लिलामीका लागि राखिएका २५ भन्दा बढी गाडी, २५ थान कम्प्युटर, १७ थान एयर कन्डिसनर, बरामद रक्सी, निर्यातका लागि राखिएको डेढ कन्टेनर चिया र करिब दुई करोड मूल्यको कफी समेत जलेर नष्ट भएका छन् । पौडेल भन्छन्, “कार्यालयमा अब खरानी मात्र बाँकी छ, काम गर्न सक्ने स्थिति छैन ।”

प्रशासनले क्षतिको प्रारम्भिक विवरण तयार पारिरहेको छ तर वास्तविक अवस्था भयावह रहेको कर्मचारीहरूले बताएका छन् । आगजनीका कारण मेची भन्सारको प्रशासनिक कामकाज र व्यापारिक गतिविधि पूर्ण रूपमा ठप्प छन्, कर्मचारीहरू सेवा पुनः सुचारु गर्ने उपायको खोजीमा छन् ।
पाँचमध्ये दुई नाका भारतको पश्चिम बंगालसँग सीमा जोडिन्छन् । भद्रपुर विहार र बंगाल दुवै राज्यसँग नाका जोडिएको छ भने रानी र भन्टाबारीले विहारसँग सीमा जोडिएको छ ।
आन्दोलनका कारण काँकडभिट्टाको मेची भन्सार र भद्रपुर भन्सार पूर्ण रूपमा क्षति भएको थियो । विराटनगर भन्सारले आंशिक क्षति व्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस