काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी मुख्यालयले आज बिहान ८ बजे जारी गरेको तथ्यांक अनुसार, देशभरका नौ ठाउँका सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने तीन ठाउँका सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन्।
प्रहरीका अनुसार, कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–१ एकुवा क्षेत्रमा सडक अवरुद्ध भएको छ। यस्तै, मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरूमा सडक पूर्ण रूपमा बन्द छ। पाँचथरको तमोर करिडोरअन्तर्गत तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पनि आवागमनका लागि पूर्ण रूपमा बन्द रहेको जनाइएको छ।
बागमती प्रदेशमा पर्ने रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। त्यसैगरी बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी खोला गाउँपालिका–११ का माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायत स्थानहरूमा सडक अवरुद्ध भएको र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक पनि बन्द रहेको प्रहरीको भनाइ छ।
कर्णाली प्रदेशमा हुम्लाको कर्णाली करिडोरखण्डमा पर्ने खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलाको सडक पूर्ण रूपमा बन्द छन्।
त्यस्तै, कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा खण्डमा पर्ने साँगुरीगढी गाउँपालिका–१ चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
बागमती प्रदेशमा मकवानपुरको कान्तिलोकपथमा पर्ने भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा सडक पनि एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउन सडक विभाग, स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। वर्षा अझै नरोकेका कारण पहिरो खस्ने जोखिम कायम रहेकोले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस