काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाबिर पुनले मन्त्रालयस्तरीय छलफलपछि पाँचवटा महत्वपूर्ण निर्णय गरेको बताएका छन्। मन्त्री पुनले विज्ञान, प्रविधि र शिक्षासम्बन्धी क्षेत्रको संरचनात्मक सुधार र प्रभावकारिता वृद्धि गर्ने निर्णय गरेको बताएका हुन्। समाजिक सञ्जाल फेसबुकमार्फत आणविक अनुसन्धान केन्द्र स्थापनादेखि त्रिभुवन विश्वविद्यालयको सम्पत्ति प्रतिवेदन सार्वजनिकसम्म भएको उल्लेख गरेका छन् ।
निर्णयहरू
१. आणविक अनुसन्धान केन्द्र स्थापना
नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर उपचारका लागि प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधि (Radio Isotops) को उत्पादन अब नेपालमै गर्न पहल हुने भएको छ। त्यसका लागि आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्ने प्रक्रिया अघि बढाउन मन्त्रीले निर्देशन दिएका छन्।
२. सिटिइभिटी पुनर्संरचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) लाई सक्षम जनशक्ति उत्पादन केन्द्रका रूपमा रूपान्तरण गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
३. नास्टमा सुधार र पुनर्संरचना
राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा हुने वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई उपलब्धिमूलक बनाउन प्रतिभाशाली नेपालीहरूलाई आकर्षित गर्ने र संस्थागत सुधार गर्ने कार्यदल तुरुन्त गठन गर्न भनिएको छ।
४. त्रिभुवन विश्वविद्यालयको सम्पत्ति प्रतिवेदन सार्वजनिक
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति ९२०७८० ले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयमार्फत सार्वजनिक गर्ने निर्णय गरिएको छ।
५. संस्कृत विश्वविद्यालयमा पदपूर्ति
संस्कृत विश्वविद्यालयमा रिक्त रहेका सेवा आयोगका पदाधिकारीहरूलाई नियमानुसार तत्काल नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रालय स्रोतका अनुसार यी सबै निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको छ।
प्रतिक्रिया दिनुहोस