काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले मंगलबार आर्थिक वर्ष २०८२–८३ को दोस्रो महिना (२०८२ भदौ) को तथ्याङ्कमा आधारित स्थिति सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांक अनुसार वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा मूल्यवृद्धि दर २ प्रतिशत भन्दा कममै अडिएको छ । चालु आर्थिक वर्षको भदौसम्म उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको हो । अघिल्लो वर्ष यो दर ३.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ ।
नेपालसँग भएको विदेशी सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । उक्त सञ्चितिले नेपालमा हुँदै आएको वस्तु तथा सेवा आयात गर्दा १६ महिना र वस्तु आयात गर्दा १९.७ महिनालाई धान्ने राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।
२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
त्यस्तै, चालु खाता रु. १३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति रु. १५३ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु.५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा ३३.१ प्रतिशतले र अमेरिकी डलरमा २७.६ प्रतिशतले बढेको छ । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वृद्धि भई रु.२९८ अर्ब ९७ करोड कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस