काठमाडौं । सरकारले सिंचाइ क्षेत्रका रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। सोही क्रममा बबई सिंचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनीसँग भएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गर्दै बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।
आयोजनाले आर्थिक वर्ष २०७७/७८ मा नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण र भवन मर्मतका लागि कम्पनीसँग सम्झौता गरेको थियो। ६ वटा ठेक्कामध्ये चारको भौतिक प्रगति शून्य रहेको छ भने एउटामा ३० र अर्कोमा ५५ प्रतिशत प्रगति देखिएको आयोजनाले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजनालाई अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए।
आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दा पनि सम्झौताअनुसार काम सुरु नगरी म्यादसमेत सकिएको जनाएको छ। ठेक्का सम्झौता अन्त्यका लागि १५ दिनभित्र प्रमाणसहित उपस्थित हुन कम्पनीलाई सूचना गरिएको छ।
पेस गरिएका प्रमाण चित्तबुझ्दो नठहरे सम्झौता तथा सार्वजनिक खरिद कानूनअनुसार कार्यसम्पादन जमानत र धरौटी रकम जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने छ।
सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका परियोजनामध्ये भेरी–बबई, सुनकोशी–मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण रहेको बताइएको छ। तीमध्ये ६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस