२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जेनजी आन्दोलनको असरः कोशी प्रदेश सरकारलाई डेढ अर्ब रुपैयाँभन्दा बढीको क्षति

बिहिवार , आश्विन ३०, २०८२

विराटनगर । भदौ २३ र २४ गते कोशी प्रदेशभर फैलिएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले प्रदेश सरकारलाई करिब डेढ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले संकलन गरेको विवरणअनुसार प्रदेशका ११ मन्त्रालय तथा सम्बन्धित निकायअन्तर्गतका ४२ भवनमा क्षति पुगेको हो । ती भवनमध्ये १८ वटा पूर्ण रूपमा प्रयोगविहीन भएका छन् भने २४ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । मुख्य प्रशासनिक केन्द्रहरू — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रमुख सचिव निवास, सुरक्षाकर्मी टहरो र पार्किङ क्षेत्रलगायतका संरचनामा आगजनी र तोडफोडबाट क्षति पुगेको छ । यी संरचनाहरू मर्मतपछि पुनः प्रयोगमा ल्याउन सकिने बताइएको छ ।

मन्त्रालयको प्रतिवेदनअनुसार, प्रदेश सभा सचिवालय हाल अस्थायी रूपमा मिडिया सेन्टरको एउटा कोठाबाट सञ्चालन भइरहेको छ । यस्तै, प्रदेश किताबखानाको भवनसमेत प्रयोग हुन नसक्ने अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको मुख्य भवन, सचिव आवास, सहरी विकास महाशाखा र झापास्थित पूर्वाधार विकास कार्यालयमा समेत आगजनी र तोडफोड भएको उल्लेख छ ।

त्यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश योजना आयोग, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

मन्त्रालयका अनुसार अधिकांश भवनहरू सामान्य मर्मतपछि पुनः प्रयोगमा ल्याउन सकिने अवस्थामा छन् । क्षतिको विस्तृत विवरण अझै संकलन भइरहेकाले अन्तिम प्रतिवेदन आगामी कात्तिक ९ गतेभित्र पेश गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । मन्त्रालयका निमित्त सचिव रमेश श्रेष्ठले तोकिएको म्यादभित्र प्रतिवेदन तयार पारिने जानकारी दिएका छन् ।

सुनसरीमा मात्र १ अर्ब १७ करोडभन्दा बढीको क्षति

‘जेनजी’आन्दोलनकै क्रममा सुनसरी जिल्लामा रहेका ३३ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड हुँदा करिब १ अर्ब १७ करोड ३३ लाख ८३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । यो विवरण प्रहरीद्वारा संकलित मुचुल्काका आधारमा तयार गरिएको हो ।

आन्दोलनका क्रममा दुई जनाको मृत्यु हुनका साथै तीनवटा प्रादेशिक कार्यालयसहित दुई दर्जनभन्दा बढी सरकारी भवनमा आगजनी गरिएको थियो । त्यस क्रममा ७३ वटा प्रहरी कार्यालय विस्थापित भएका थिए, जस मध्ये १० वटा कार्यालयमा आगो लगाइँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय इटहरी, पकली, खनार, हलगडा, बुढिखोला, कालाबञ्ज।र, चादबेला र एकम्बा लगायतका प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका थिए । इटहरीस्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय पनि जलेर नष्ट भएको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, राजश्व अनुसन्धान इकाई कार्यालय, यातायात व्यवस्था कार्यालय, इटहरी उपमहानगरपालिका, कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, दुहबी नगरपालिका, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिका लगायतका कार्यालयहरूमा समेत आगजनी गरी भवन र सामग्री ध्वस्त पारिएको प्रशासनले जनाएको छ ।

सबैभन्दा ठूलो नोक्सानी इटहरी उपमहानगरपालिकामा भएको जनाइएको छ, जहाँ २५ करोड १० लाख ४५ हजार रुपैयाँभन्दा बढीका सामग्री र फाइलहरू जलेर नष्ट भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट