काठमाडौं । सरकारले आगामी निर्वाचनका तयारी र राजनीतिक सन्देश प्रवाह गर्न गतिविधि तीव्र पारेको छ। राजनीतिक परामर्शसँगै आइतबारदेखि निर्वाचन सुरक्षा रणनीति लागू गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति र चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा शीतलनिवासमा भएको छलफलबारे जानकारी दिइन्। उनका अनुसार छलफल निर्वाचनको वातावरण निर्माण र सुरक्षा व्यवस्थामा केन्द्रित थियो।
प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरेकी छन्। उनका अनुसार आगामी साताबाट अन्य दलका नेताहरूसँग पनि संवाद विस्तार गरिनेछ।
राष्ट्रपति कार्यालयको पहलमा राजनीतिक दलका नेता र जेन–जी प्रतिनिधिबीचको संवाद अघि बढेका बेला सरकारले औपचारिक भेटवार्ता प्रक्रिया अगाडि सारेको छ।
आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। गृहमन्त्रीको संयोजकत्वमा बस्ने समितिमा गृह तथा रक्षा सचिव र चारवटै सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन्। बैठकले एकीकृत सुरक्षा योजनाको समीक्षा र नीतिगत निर्देशन दिने सरकारको सचिवालयले जनाएको छ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। समितिले जिल्लास्तरमा समन्वय गर्दै कार्ययोजना कार्यान्वयन गर्नेछ। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति गठन भइसकेको छ।
प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेकी छन्। सरकार निर्वाचनलाई प्राथमिकतामा राखेर गतिविधि केन्द्रित गरिरहेको प्रेस नोटमा उल्लेख गरिएको छ।
गृहमन्त्री अर्याललाई उद्धृत गर्दै जारी गरिएको प्रेस नोटमा भनिएको छ, “हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौं। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ। निर्वाचन आयोगसँग सघन समन्वय भइरहेको छ र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन अभाव नहुने व्यवस्था मिलाइएको छ।”
प्रतिक्रिया दिनुहोस