काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिक र फरक क्षमताका यात्रुहरूका लागि हवाई भाडामा उल्लेखनीय छुट लागू गरेको छ। यो निर्णय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको पहलमा भएको हो।
मिति २०८२ कात्तिक २ गते, प्राधिकरणको प्रधान कार्यालयमा महानिर्देशक अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष र नेपालका सबै आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच बसेको बैठकले तीन महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
यस्तो छ निर्णयहरु
पहिलो, अबदेखि ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। यसले देशभरका जेष्ठ नागरिकहरूलाई सस्तो र सहज यात्राको अवसर दिनेछ।
दोस्रो, ७५ वर्षभन्दा माथिका नागरिकहरूलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकहरूलाई ८० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। यो व्यवस्था अहिलेको मितिबाटै लागू गरिएको छ।
तेस्रो, फरक क्षमता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिनेछ। यसले हवाई यातायातलाई सबै नागरिकका लागि अझ समावेशी र पहुँचयोग्य बनाउने उद्देश्य राखेको प्राधिकरणले जनाएको छ।
बैठकपछि महानिर्देशक अधिकारीले सबै वायुसेवा कम्पनीहरूलाई सहमतिअनुसारका निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन्।
उनका अनुसार, “हवाई यात्रा केही वर्गका लागि मात्र होइन, सबै नागरिकका लागि सहज र सुलभ हुनुपर्छ — यही उद्देश्यका साथ प्राधिकरण अघि बढेको हो।”

प्रतिक्रिया दिनुहोस